नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

मुगु । नेपाली सेनाको श्रीदल गुल्मको आयोजनामा छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्माको माझघट्टमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
श्रीदल गुल्मको आयोजना र श्री नम्बर २४ फिल्ड एम्बुलेन्स गुल्म जुम्लाको नेपाली सेनाको स्वास्थ्य टोलीको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हाे ।
शिविरमा झन्डै ३०० भन्दा बढी स्थानीयवासीको स्वास्थ्य परीक्षण र उपचार गरिएको गुल्मले जनाएकाे छ । विकट गरिब बस्तीमा रहेको औषधी उपचारबाट वञ्चित रहेका स्थानीय नागरीहरुको स्वास्थ्यमा सुधार ल्याउन जनचेतना सहित ६० प्रकारका औषधि निशुल्क वितरण गरिएकाे हाे ।
शिविरमा सहभागी भएकाहरूमध्ये अधिकांश महिलाहरूमा पाठेघर खस्ने र तल्लो पेट दुख्ने समस्या रहेको पाइएकाे छ । साथै स्थानीयवासीमा ढाड दुख्ने समस्या, ग्याष्टिकको समस्या र बालबालिकामा कान पाक्ने समस्या बढी देखिएको उपचारमा संलग्न नेपाली सेनाका डाक्टर विनोद थापाले जानकारी दिए ।
शिविरमा नगरपालिकाका मुर्मा, पिना, तुम तथा खत्याड गाउँपालिकाका सेरी, जुम्फै, निगालीबोट स्थानीयवासी स्वास्थ्य परीक्षण गराउन आएका छन् ।
एकदिने निशुल्क स्वास्थ्य शिविरमा स्थानीयबासीको निकै सहभागिता रहेको थियो । ‘शिविरमा निशुल्क चेकजाचका साथै औषधी पाइयो, हामी गरिब-दुखीहरू आैषधी उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जान पाइदैन । यो शिविरले हामी गरिबको निकै उदार गरेको छ,’ रारा छायानाथ- ५ ढुमगाउँकी बाचुरुपा विकले भनिन् ।
शिविरबाट स्थानीयबासी हर्षित छन् । यस्ता शिविर समयसमयमा भइदिए गरिब जनतालाई राहत पुग्ने उनीहरुकाे भनाइ छ ।
(श्रोत : news24)

Leave a Reply

Your email address will not be published. Required fields are marked *